Sunday, December 4, 2011

धम्क्याउन थालेपछि उनी अहिले पसलै बेचेर माइतीमा

७३टज्ञछण्द्धस भीम गौतम
काभ्रेको होक्से गाविसका एक पुरुष हालै रोजगारीका लागि इराक गए । उनकी श्रीमतीकॊ पाँचखालको जिरो किलोमा पसल थियो । श्रीमान् वैदेशिक रोजगारमा गएको थाहा पाएपछि केही आवारा केटाले उनलाई मानसिक तनाव दिन थाले । ५० हजार रुपैयाँ नदिए अन्य केटासँग लागेको भनेर सामाजिक रुपमा बेइज्जत गरिदिन्छौँ इज्जत लुटिदिन्छौँ भन्दै राति पसलमा आएर धम्क्याउन थालेपछि उनी अहिले पसलै बेचेर माइतीमा बसिरहेकी छिन् ।
यस्तै काभ्रेकै फूलबारी गाविसकी एक महिलाका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा छन् । हालै उनी आफ्नै नाता पर्ने फुपूको घरमा गइन् र फर्कंदा साँझ परेपछि फुपूका छोरालाई साथ लिएर घर फर्किन् । रात परेकोले फुपूका छोरा पनि भिन्न बसेकी उनकै घरमा बसे । भोलिपल्ट उनका ससुरालगायत आफ्नै परिवारका व्यक्तिले फुपूको छोरासँग लागेको भन्दै जबर्जस्ती उनैलाई जिम्मा लगाइदिए । ती महिला र फुपूका छोराले त्यसको प्रतिवाद गरे तर लोग्ने वैदेशिक रोजगारमा भएकाले पक्कै यो महिलाको नियत ठीक छैन भन्दै जबर्जस्ती भिडाएका थिए । आफ्नै परिवारका मान्छेले जबर्जस्ती गरे पनि दुवैले स्वीकार गरेनन् । पछि महिलाका क्षेत्रमा कार्यरत अभियानकर्ताहरु गाउँ पुगेर बल्लबल्ल ती महिलालाई घरमै बस्ने वातावरण बनाइदिए ।
काभ्रे साँगा गाविसको एक महिलाको अवस्था पनि उस्तै छ । उनका श्रीमान् अमेरिकामा छन् । एकपटक गाउँकै कसैसँग बोलेको आरोपमा उनकै परिवारले त्यही पुरुषसँग सम्बन्ध भएको आरोप लगायो । यस विषयमा प्रहरीमा उजुरी नै पर् यो जसले आरोप लगाएकी थिइन् उनले जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला सेलमा आफूले लगाएको आरोपको पुष्टि गर्न सकिनन् । तर परिवारले आरोप लगाउन भने छोडेन । अहिले उनी बल्लबल्ल प्रहरीको रोहवरमा भएको छलफलपछि घरमा बसेकी छिन् तर व्यवहार राम्रो पाउन सकेकी छैनन् ।
काभ्रेको डाँडापारिस्थित गोकुलेकी एक महिलाका श्रीमान् पनि रोजगारको सिलसिलामा विदेशमा थिए । गाउँकै सेतीदेवी प्राविका शिक्षक नारायण पुलामीले छुट्टै बस्ने उनलाई दैनिक रुपमा रक्सी सेवन गरेर मानसिक तनाव दिन थाले । अन्ततः उनी ती शिक्षकसँग अवैध सम्बन्ध राख्न बाध्य भइन् । उनका श्रीमान् वैदेशिक रोजगारमा गएर फर्केको ११औँ दिनको दिन उनले बच्चा जन्माइन् । यो मुद्दा जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्यो । उनका श्रीमान्ले छोडिहाले उनीसँग अवैध सम्बन्ध राख्ने पुलामी पनि गत वैशाखदेखि फरार छन् । २० दिन धुलिखेलस्थित सेफ हाउसमा बसेकी उनलाई अहिले साथी संस्थाले सहारा दिइरहेको छ ।
यस्तै बैतडीकी एक महिलाका श्रीमान् रोजगारको सिलसिलामा विदेशमा रहँदा ती महिलालाई ससुरा र देवरले पटक-पटक बलात्कार गरे । आफ्ना श्रीमान् र माइतीलाई बलात्कार गरेको बताउने भनेपछि ससुरा र देवर मिलेर उनको हत्या गरे र भैंसीगोठमुनि पुरे । पछि माइतीको उजुरीको आधारमा ससुरा र देवर जेल परे । ससुरा त जेलबाट देवरलाई मात्र दोष देखाउँदै छुटेका छन् तर देवर भने अझै जेलमै छन् ।
यी माथिका केही प्रतिनिधि उदाहरण मात्रै हुन् । श्रीमान् वैदेशिक रोजगारमा गएका केही महिलामा आएको विचलनको जोडतोडका साथ प्रचार भए पनि वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश जाँदा तिनका श्रीमतीले आफन्त र समाजबाट भोग्नुपरेका मानसिक तनावका घटनाहरु भने बाहिर आउन सकेका छैनन् । यस्ता घटना कमै मात्र सार्वजनिक हुने गरेका छन् । समाजमा पछिल्लो समयमा रोजगारीको सिलसिलामा श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाले चौतर्फी मानसिक तनाव झेल्नुपर्ने बाध्यता छ । घरपरिवारदेखि समाजसम्मले नकारात्मक रुपमा हेर्ने गरेका छन् । विशेषगरी यस्ता महिलाले आफन्तजनबाट घर निकालादेखि बलात्कारसम्मको पीडा खप्नुपरेका उदाहरण छन् । ुश्रीमान् विदेश गएको भनेपछि परिवारबाहिरका पुरुषले साह्रै नराम्रो दृष्टिकोणले हेर्दारहेछन् घरभित्रका आफन्त पनि साह्रै शङ्कालु हुने रहेछन् श्रीमान् नभएपछि एक्लो महसुस हुने रहेछु एक पीडित महिलाले गुनासो पोखिन् ुकसैसँग बोल्यो भने पनि घर-परिवारले साह्रै तनाव दिन्छन् बाहिरका केटाहरु पनि फकाउने धम्क्याउनेसमेत काम गर्छन् ।ु उनका अनुसार परिवारबाटै तनाव दिएपछि कहिले त मन बुझाउन र आफ्नो बह पोख्न बाहिरको मान्छेको सहारा लिँदा झनै फस्ने अवस्था आउने रहेछ । उनी भन्छिन् ुबिनाकारण हरेक कुरामा बिनाप्रमाण बिनाआधार आरोप लगाएपछि साह्रै पीडा हुने रहेछ कतिपयको त हामीजस्तै वैदेशिक रोजगारमा जानेका श्रीमती बाध्य भई अरुसँग जानुपर्ने परिस्थिति पनि परिवारकै सदस्यले बनाइदिने रहेछन् ।ु अर्की एक पीडित महिला उनकै अनुरोधमा नाम उल्लेख नगरिएको ले भनिन् ुछोराले विदेशबाट कमाएको पैसा आफैंले राख्नका लागि पनि कतिपय सासू-ससुराले नियतवश गलत व्यवहार गरेर हतोत्साहित बनाउन खोज्ने रहेछन् ।ु
पछिल्लो समयमा श्रीमान् वैदेशिक रोजगारीमा भएका कारण महिला समस्यामा परेका घटना प्रहरीसम्म पनि पुग्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेकी महिला सेल प्रमुख कल्पना सापकोटाका अनुसार गत वर्ष प्रहरीमा दर्ता भएका ७२ घरेलु िहंसाका घटनामध्ये ३० वटा वैदेशिक रोजगारीसँग सम्बन्धित छन् । हालसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेमा आएका ३३ मुद्दामध्ये ५० प्रतिशतजति त रोजगारीको कारण आएका समस्या छन् । ुकतिपय मुद्दा महिलाका कारण उब्जिएका समस्यामा केन्द्रित छन् कतिचाहिँ श्रीमान् विदेशिएपछि घर-परिवारबाट हुने अपहेलना गाउँका र घरकै पुरुषले गर्ने दुव्र्यवहारलगायतका छन्ु सापकोटा भन्छिन् ।
अशिक्षा जनचेतनाको कमी महिलाप्रति पुरुषको गलत दृष्टिकोण आदिको कारण पछिल्लो समयमा महिलामाथि हुने िहंसाका घटना बढेको यस क्षेत्रमा सकि्रय अभियानकर्ता बताउँछन् । तामाङ महिला घेदुङले काभ्रेमा साचालन गरेको मानव बेचविखनविरुद्धको कार्यक्रमकी सहजकर्ता गंगा दोङ भन्छिन् ुअशिक्षा अज्ञानता परिवारको दबाब र समाजको डरको कारण धेरै महिलाले समस्या भोगिरहेका छन् । महिला बोल्न डराउँछन् कुनै आरोप लगाएपछि रोईमात्र रहन्छन् समाजमा जान्ने-बुझ्नेहरु पनि कसैलाई नचिढ्याउने नाममा मौन बसिदिन्छन् ।ु प्रहरीको अनुसन्धान केवल डाक्टरको एकपछि अर्को बिरामीको जाँच परीक्षण गरिएकोजस्तो मात्र भएको उनको आरोप छ । ुप्रहरीका अनुसन्धान पनि महिलामैत्री हुनुपर्छ मनोवैज्ञानिक तरिकाले गहिराइसम्म पुगेर अनुसन्धान गरे पो न्याय दिन सकिन्छ खालि मिलाउने र सहमतिको प्रयास मात्र प्रहरीले गर्छु उनी भन्छिन् ।
उनको तर्कसँग काभ्रे बार इकाइकै पूर्वअध्यक्ष एवम् जनअधिकार संरक्षण माचद्वारा काभ्रेमा साचालित जनचेतना अभिमुखीकरण कार्यक्रम संयोजक कृष्णप्यारी नकर्मी पनि सहमत छिन् । अाचल प्रहरी प्रमुख पशुपति उपाध्यायले भने पीडितले तुरुन्तै न्याय र सेवा पाउनेगरी पीडितमैत्री वातावरणमा काम गर्न प्रहरीका सबै निकायलाई निर्देशन दिइएको बताए । ुकुनै पनि पीडितले तुरुन्तै र साँच्चै न्याय पाउन् भनेर पीडितमैत्री सेवा दिनका लागि निर्देशन दिएको छुु उनले भने । नकर्मी भन्छिन् ुप्रहरीले सकेसम्म मिलाउने नत्र अदालत पठाउने काम मात्र गरिरहेको छ सरकारले मनोसामाजिक परामर्श तालिम अनिवार्य रुपमा प्रहरीलाई दिएर उनीहरुलाई मनोसामाजिक परामर्शको आधारमा अनुसन्धान गर्न सहयोग पुर् याउनुपर्छ ।ु वैदेशिक रोजगारीका कारण पछिल्लो समयमा जिल्ला अदालतमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पनि उनले बताइन् ।
विदेश जानुअघि श्रीमान्-श्रीमती र परिवारका सदस्यबीच कुनै छलफल नै नगर्ने प्रवृत्ति पनि महिला पीडित हुनुको एउटा कारण हो । विदेश जानुअघि श्रीमान् श्रीमती परिवारका सदस्य राखेर छलफल गर्ने र सबै कुरामा स्पष्ट हुने हो भने यस्ता समस्या कम आउन सक्छन् । वैदेशिक रोजगारमा जाने श्रीमतीहरुले तनाव भोग्नु नपरोस् र विदेशिएकाहरुले घरपरिवारलाई राम्रोसँग हेर्ने वातावरण बनोस् भनेर आफूहरुले जनचेतनामूलक कार्यक्रम काभ्रेका गाउँहरुमा गर्न लागेको कुरा तामाङ घेदुङकी सहजकर्ता गंगा दोङले बताइन् । जिम्मेवार परिवार बुहारीमाथि राम्रो व्यवहार र श्रीमान्को अनुपस्थितिमा परिवारले राम्रो व्यवहार दिन सके कोही महिलाले तनाव भोग्नु नपर्ने र महिला ुबिगि्रएकोु देख्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।
साभार संचारिका फिचर सेवाभीम काभे्रका पत्रकार हुन् ।

No comments:

Post a Comment